By Ratna Baral
रोगले एकपटक समातेपछि, त्यति सजिलै कहाँ छोड्दो रहेछ र । आठ बर्ष सम्म सन्चो होला भनेको त पछि अरु रोगहरु थपिए । रोग थपिएपछि हेराउने ठाउँमा गएँ । हेराउनेले, “मरेको सौताले ( आफ्नो श्रीमानको दोस्रो श्रीमतीले ) दु:ख दिएको हो, उसलाई पन्छाउनु पर्छ” भने । म बाट पन्छाउन के गर्नुपर्छ भनि सोध्दा, “उसलाई बाख्राको पाठी, बेहुलीको सामान ( जति थरि हुन्छ, त्यति नै थरि ), भान्छाको सामान ( जति थरि हुन्छ, त्यति नै थरि )” चढाउन पर्छ । यति चढाएपछि तिमीलाई सन्चो हुन्छ भने र मैले पनि त्यसै गरे । त्यति गर्दा पनि कत्ति सन्चो भएन, त्यही माथि आर्को रोग थपियो । त्यसपछिबाट मलाई दमको रोग सुरु भयो । दम सुरु भएपछि पुन: डक्टरकोमा गएँ । डक्टरले, “अब बाचुन्जेल तिमीले औषधी र स्प्रे लिराख्नुपर्छ भन्नुभयो ।”
म बाथरुम सम्म पनि जान सक्ने थिईन, तर ब्रत बस्छु भनेपछि भोक पनि लाग्थेन र साथसाथै दम पनि कम भएको महसुस हुन्थ्यो । तर ब्रत नबसेको दिनमा तीन थाल खाना, एउटा खसीको टाउको, आधा किलो जति चिउरा, र खट्टे ( घीउ र मरिच मिसाएर ) खान्थें । छोरा, बुहारी घरबाट कामको लागि अथवा बजारतिर निस्किएपछि, मलाई झ्याम्म पार्थ्यो, घर सबै घुमे जस्तो हुन्थ्यो, रिंगटा लाग्थ्यो र म बेहोश हुन्थे । बेहोश भएपछि फुकेपछि मात्र होशमा आउथे ।
दिनहुँ जस्तो बेहोश हुन थालेपछि, फेरी स्याङ्जा हेराउन गइयो । त्यहाँकोले, “तपाइले कुल पुजा गरेपछि सन्चो हुन्छ” भने र कुल पुजा पनि गरियो । त्यसपछि अलि केहि सन्चो भए जस्तो भयो र साथसाथै खाना पकाउन पनि सक्ने भएकी थिएँ । खाना पकाउंथे र छोरा बुहारीलाई पहिला खान दिन्थे र तिनीहरु आ-आफ्नो काममा जान्थे । पछि म खाना खान बस्थें । पहिलो गास खाईसकेपछी, अर्को गास खाँदा घाँटीमै अड्किन्थ्यो र म बेहोश हुन्थे । म भुइँमा पल्टिरहन्थ्ये । बिहानको ९ बजेबाट दिउँसोको १२ बजे सम्म रोगले चाप्थ्यो । त्यसपछि बल्ल आफैँ अलि हलुका हुन्थ्यो र साथै राति पनि त्यस्तै ९ बजे पछी चाप्थ्यो र फेरी बेहोश हुन्थे । अनि फुकेपछि फेरी होसमा आउंथे ।
बेहोश हुने, दम बढ्ने रोग त छदैं थियो, मलाई फेरी बेडमा सुत्नै नहुने पनि हुन थाल्यो । बेडमा सुतेपछी, मेरो शरीरमा आगोले पोलेजस्तो हुन्थ्यो र निदाउन सक्थिन । भुइँमा परालको गुन्द्री ओछ्याएर सुतेपछि बल्ल निदाउंथे । ब्यूझिएपछी शरीर फुल्थ्यो, आँखा पनि बन्द हुन्थ्यो । मेरो शरीर टुक्रा टुक्रा भए जसरी दुख्थ्यो, दुखाईको पीडाले ज्वरो पनि आउंथ्यो । फेरी हेराउनेकोमा गएँ । हेराउनेले, “मरेको सासुले दुख दिएको छ” भने, र उसलाई पनि पन्छाउने काम गरियो । त्यसपछि केहि समय ठिक पनि भयो । तर पछि पुनः जस्ताको त्यस्तै भयो ।
नियमित यीनै रोगहरुले चाप्दै गएपछि, मनमा अब म बाँच्दिन जस्तो आउन थालेपछी, फेरी दुलेगौंडा हेराउन गएँ । हेराउनेले, “त्यो घरमा नबस, त्यो घरमा बसिराख्यौ भने, यीनै रोगले लैजान्छ ( मर्छयौ )। त्यो घर छोड्यौ भने तिमीलाई सन्चो हुन्छ । ” भन्ने खबर आयो । यदी त्यो घर छोडेमा मलाई सन्चो हुन्छ भने र म बाच्छु भने म घर छोडिदिन्छु भन्ने लाग्यो । त्यसपछि त्यहाँ भएको घर बारी सबै बेचेर, म आफ्ना दाजुभाइ, ईष्टमित्र भन्दा टाढा गएर बसें । यति गरेपछि स्वास्थ्यमा थोरै सुधार त आयो तर रोग कुनै पनि पूर्ण रुपले सन्चो भएन ।
यसरी ८ बर्ष पछि, अर्को ४ वर्ष पनि जुकाझैँ टासिएर बसे ती रोगहरु ।
बाँकी आर्को भेटमा प्रस्तुत गर्दछु भन्दै अहिलेलाई बिदा हुन्छु । धन्यवाद ।