By Ratna Baral
भनिन्छ, मानिसलाई रोग लाग्न कुनै दिन, समय, बार, तिथि कुर्न पर्दैन । त्यसरीनै आज भन्दा करिब १५ बर्ष आगाडीको कुरा हो, कुनै एक दिन मलाई सुरुमा दुई दिन सम्म लगातार वान्ता भएको थियो । दुई रात, तीन दिन मैले घरमै बिताएकी थिएँ । म बोल्न सम्म सकेकी थिईन । मलाई छर छिमेकी सबै जना बोलाउन आएका थिएँ । यसलाई एकपटक हस्पिटल लगे हुन्थ्यो भन्ने गर्दा रहेछन् र केहि दिनपछि मेडिकल पनि लगे । मेडिकलमा डक्टरले, “यो बिरामी बाच्दैंन, मैले औषधि खुवाउन सक्दिन ।” भन्नुभएछ । डक्टरले गण्डकी हस्पिटलमा जाने सल्लाह दिए, तर मेडिकलमा चिनेका मानिस भएकाले, डक्टरलाई भनेर मेडिकलमै राखेर उपचार सुरु गराएँ । एकैदिनमा १८ बोतल स्लाईन पानी र १८ ओटा भिटामिन लगाएपछि म होसमा आँए । मेरो फोक्सो कुहिएर पिप र रगतले भरिएको थियो । डक्टरलाई सोध्दा निमोनिया भएर फोक्सो फुलेको हो र यो सन्चो हुन ८ वर्ष लाग्छ भन्ने जवाफ दिन्थे ।
डक्टरको सल्लाह अनुसार, दिनमा दुईपटक मेडिकल आउने गरी घर फर्किए । एक बर्ष त्यसरीनै बित्यो । खानेकुराहरुमा उमालेको पानी दिनमा तीन पाथी पिउने गर्थे । अडरको दालमा नुन मात्र राखेर त्यसैसंग भात खान्थें । एक बर्ष सम्म यसरी नै खाँदै गए । तर पनि बिस्ताराबाट उठ्नै सक्दिन थिएँ ।
एक बर्ष त्यसरी खाएपछि, एक छाक उमालेर मात्र मासु खान थालेकी थिएँ । अनि मेरो शरीरमा के के हो हिंडे जस्तो लाग्थ्यो । डक्टरलाई के भएको हो यस्तो भनेर सोध्न गएँ । डक्टरले कमजोरीले गर्दा यस्तो भएको हो भन्नुहुन्थ्यो । मासु खाएपछि मलाई रोगले झन् चाप्थ्यो । चापेपछी चामल र पैसा लिएर हेराउन गएँ । हेराउनेले मरेको पिचाशले दु:ख दिएको हो र त्यसलाई मंसायर फालेपछि ठिक हुन्छ भने र त्यसै गरियो । केहि समय ठिक भए जस्तो हुन्थ्यो तर पछि त्यस्तै । कत्ति पनि सन्चो भएन ।
त्यसपछि मासु नखाई खसीको टाउको उमालेर खान थाले । शरीरमा केहि हिंडेजस्तो हुने र शरीर लुछ्ने त सन्चो भयो तर त्यसपछिबाट शरीर फुल्न सुरु भयो । चिसोले शरीर फुलेको हो कि जस्तो लागेर मरिच, चामल र घिउ रातो हुने गरेर भुटेर, तातो तातो खाने गरें । ती सबै पनि बिस्तारामा नै सुतेर खान्थे । चिसो पानी, खाने कुराहरु कत्ति पनि छोईन । बिस्ताराभन्दा बाहिरको चिज हातले समाउन सक्दिन थिएँ । तिर्खा लाग्थ्यो तर बिस्ताराको छेउमा भएको पानी सारेर खान सक्दिन थिएँ । टाउकोमा उनिको (वुलन) टोपी, शरीरमा दुईवटा चोलो, हाईनेक र सुइटर लगाएर दुईवटा सिरक ओढेर सुतिराख्थें । न त डक्टरको औसधीले ठिक भयो न त हेराउनेले ठिक गर्न सक्यो । केहि सिप नलागेपछि म त्यही रोग लिएर, त्यस्तै खाना खाँदै, त्यसरीनै सुतेर पहिलो ८ वर्ष बिताए ।
यसरी बिते मेरा दु:ख र संघर्षका आठ बर्ष । बाँकी आर्को भेटमा प्रस्तुत गर्दछु भन्दै अहिलेलाई बिदा हुन्छु ।
धन्यवाद ।