By Ramesh Sharma
मैले बुझ्न सकेकाे कुरा पाेख्न खाेज्दैछु ।
नोट : यो कुनै आधिकारिक उत्तर होइन, त्यसैले पढ्नुहोस् र बुझ्नुहोस् मात्र……
मानिसको शरीर तीन वटा शरीर मिलेर बनेको हुन्छ । बाहिर बाट देखिने भौतिक तत्वको शरीर जुन हाड, मासु, रगत, नशा मिलेर बनेको हुन्छ त्यसलाई स्थुल शरीर भनिन्छ । त्यस बाहिरको स्थुल शरीर भित्र चेतनाले भरिएको अदृस्य शरीर हुन्छ जसलाई लिङ्ग शरीर भनिन्छ । त्यस लिङ्ग शरीर भित्र आत्मा शरीर हुन्छ । यी तीन शरीर मध्ये चेतनाको शरीर अथवा लिङ्ग शरीरनै मानिसको प्रमुख शरीर हो ।
जब मानिसको मृत्यु हुन्छ, हामीलाई लाग्छ त्यो सदाको लागी मरेर गयो, तर त्यहाँ भौतिक शरीर वा स्थुल शरीरको मात्र मृत्यु भएको हुन्छ भने चेतनाको शरीर वा लिङ्ग शरीरका साथै आत्मा शरीर पनि जीवितै रहेको हुन्छ । वास्तविक जीवनमा मानिसले जति पनि कार्य र कर्महरु गरेको हुन्छ, त्यो सबै उसको चेतनाले गरेको हुन्छ अथवा उसको चेतनाको शरीरले गरेको हुन्छ । जुन हाम्रो यो स्थुल शरीर, लिङ्ग शरीर र आत्मा शरीर को संयुक्त शरीरले गरेका कामहरु, पढेका बुझेका कुराहरु, अनुभवहरु स्थुल शरीरको मृत्यु पछि लिङ्ग शरीरमा याद रहेको हुन्छ । त्यसैले त्यस लिङ्ग शरीरले गरेका कामहरु, कामका यादहरु, कामका सम्बन्धहरु, नाता सम्बन्धहरु, सुख, दु:ख, रोजगार, सम्पत्ति, मित्रता, शत्रुता सबै उसको चेतनामा रहेको हुन्छ र स्थुल शरीरको मृत्यु पछि लिङ्ग शरीरले त्यो चेतना संगै लिएर जान्छ ।
मानिसको मृत्यु पछि उसले मेरो स्थुल शरीर मरिसक्यो, म त एउटा लिङ्ग शरीर मात्रै हो भनेर बुझ्दैन । “ मृत्यु पछिको जीवन के हो ? त्यहाँ उत्पन्न भएका दु:ख कष्टका अनुभवहरुको कारण र उपाय के हो ? म कहाँ जानु पर्छ ? ” भन्ने कुराहरुको ज्ञान त्यसमा हुँदैन । ऊ त्यही आफ्नो घरमा, नातामा, सम्पत्तिमा, मायामा फर्कन खोजिरहेको हुन्छ । यसरी फर्कनु भनेको नर्क हो । यो कुरा उसले बुझेको हुँदैन । त्यस लिङ्ग शरीरले जीवित मानिसहरुसँग गुहार मागिरहेको हुन्छ, खाना मागिरहेको हुन्छ, पानी मागिरहेको हुन्छ, जाडोमा कपडा मागिरहेको हुन्छ तर जीवित मानिसहरुले उसलाई देखेका हुँदैनन् । मानिस मरेपछि पितृ भएर बस्छ र उसका आफन्तहरुले त्यस पितृलाई भनेर विभिन्न तरिकाले पुजा पाठ र श्राद गरेर खानेकुरा, पानी, लगाउने कपडा, मनपरेको चिजहरु, आदि इत्यादी चढाउने काम गर्छन् । तर उसले केही पनि पाएको हुँदैन । हरेक चोटी दिंदा हात त थाप्छ तर दिएको चिज केहिपनि हातमा पर्दैन । किनभने त्यो त एउटा लिङ्ग शरीर मात्र हो ,भौतिक शरीर भएको भए सबै पाउँथ्यो । यो कुरा त्यस लिङ्ग शरीरले बुझेको हुँदैन । उसले खाने थालमा अरुले नै खाइरहेको हुन्छ । ऊ सुत्ने खाटमा अरुनै सुतिरहेको हुन्छ । उसले चलाउने गाडी अरुलेनै चलाइरहेको हुन्छ । उसले गरेको व्यापार, व्यवसाय अरुलेनै चलाइरहेको हुन्छ । आज होइन, भोलि होइन बर्षौ बितिसक्दा पनि ज्ञानको अभावले गर्दा उसले आफ्नो परिस्थिति बुझ्न सक्दैन । त्यही परिस्थिति बुझ्न नसकेर सधैं अलपत्र परेर विभिन्न दु:ख कष्ट खाइरहेको हुन्छ । उसले यो सबै भ्रम मात्र हो भन्ने बुझेको हुँदैन । यही भ्रमको अवस्था अर्थात यो दु:खको अवस्थालाई भवसागर भनिएको हो ।
त्यस भवसागरमा पहिल्यैदेखि मरेकाहरु अलपत्र भएर बसेका थुप्रै हुँदा रहेछन् । ती पुराना मरेकाहरुले नयाँ मरेकाहरु आएका छन् भनेर थाहाँ पाउन साथ उनीहरु हेर्न आउँदा रहेछन् । (जस्तै: गाउँ, घरमा कसैले नयाँ दुलही विवाह गरेर ल्याएका छन् भनेर थाहाँ भयो भने गाउँलेहरु, छिमेकीहरु त्यस दुलहीलाई हेर्न आउंछन् ।) त्यसैगरी ती पुराना मरेकाहरुले नयाँ मरेर आएका छन् भनेर थाहाँ पाउन साथ हेर्न आउँदा रहेछन् । उनीहरुले ती नयाँ मरेर आएकाहरुलाई जिस्क्याउने, इल्ली विल्ली पार्ने, विभिन्न डर, त्रास देखाउने गर्दछन् । जस्तै कहिले यो खोला तर् भन्ने, कहिले यो पहाड चड् भन्ने, कहिले आगो समात भन्ने, कहिले तातो कराईमा हालिदिम भन्ने, कहिले आर्हीले काटीदिम भन्ने गर्दा रहेछन् । यसरी ती पुराना मरेकाहरू आर्कालाई जिस्क्याउने, इल्ली विल्ली पार्ने, इर्ष्या गर्नेहरु सबै भूत प्रेतहरु भएर बसेका हुन्छन् भने नयाँ मरेर आएकाहरु पितृ अवस्थामा हुन्छन् ।
मरेपछि ती पितृहरुको तीन वटा अवस्था हुन्छ ।
- जाग्रत अवस्था : यो अवस्थामा लिङ्ग शरीर जागिरहेको हुन्छ । मानिसले विहान उठेपछि गर्ने हरेक कार्यमा आफ्नो सहभागिता जनाउन खोज्दछ र जनाउंछ ।
- स्वप्न अवस्था : यो अवस्थामा लिङ्ग शरीर अर्ध – निद्रा अवस्थामा हुन्छ । त्यो अवस्थामा ऊ घरी निदाउंछ, घरी केही कुरा सपना देखे जसरी सम्झन्छ ।
- सुसुप्त अवस्था : यो अवस्थामा लिङ्ग शरीर सुतिराखेको हुन्छ । कसैले उसलाई सम्झियो भने जाग्छ नत्र निदाई राख्छ । त्यही अवस्थामा आनन्दमा रहिरहेको हुन्छ ।
यसरी, मरेका ती पितृलाई कहाँ जानु पर्छ भनेर थाहा हुँदैन र सधैँ ती भूत प्रेतहरुकै वरिपरी रहन्छन् र तिनीहरुकै दु:ख कष्टमा फसेका हुन्छन् । यही परिस्थिति अथवा दु:खको समयलाईनै भवसागर भनिएको हो ।
वेद र शास्त्रहरुमा उल्लेख गरिएको भवसागर भनेको भावनाको सागर वा भ्रमको सागर हो । तर हामीले पानीको सागर हो भन्ने ठानेर गाईको पुच्छर समातेर सागरको वारीबाट पारी तार्यो भने मरेपछि भवसागर तरिन्छ वा वैकुण्ठ तरिन्छ भन्ने तिर लाग्यौं । भवसागर भनेको पानीको सागर होइन, यो त भावनाको सागर वा भ्रमको सागर हो । भावनाको सागरमा हावा हुरी आउने, उडाउने, आगो आउने, पहाडनै आउने, ठुला खोला आउने, विभिन्न जीवले दु:ख दिने, तातो तेलमा डुबाउन खोज्ने आदि जस्ता डरलाग्दा परिस्थिति सृजना हुन्छ । यही डरलाग्दा परिस्थितिबाट कसरी बच्ने भनेर त्यस लिङ्ग शरीरले विभिन्न भ्रम सृजना गर्दछ । यो सबै उसको अज्ञानताका कारण हो । यदी त्यस लिङ्ग शरीरले यो सबै भ्रम मात्र हो भनेर जान्यो भने ती सबै डरलाग्दा परिस्थितिहरु हराएर जान्छ । स्थुल शरीरलाई आगोले पोल्छ, हावाले उडाउंछ, तातो तेलले पोल्छ, खोलाले बगाउंछ, पहाड चड्नुपर्छ तर म त एउटा लिङ्ग शरीर मात्रै हो, मलाई केही हुँदैन, म जहाँ पनि जान सक्छु, मलाई कसैले पनि छेक्न सक्दैन, कसैले पनि रोक्न सक्दैन, हावाले उडाउन सक्दैन, आगोले पोल्न सक्दैन, ती सबै भ्रम मात्र हो भनेर जान्यो भने उसको लागी केही भ्रम रहँदैन ।
“जीवनको रहस्य के हो ? लिङ्ग शरीर के हो ? लिङ्ग शरीरको उत्पत्ति कसरी भयो ? मानिसको पूर्ण मृत्यु कसरी हुन्छ ? लिङ्ग शरीर त्यो भवसागर बाट कसरी मुक्त हुन्छ ?”
यी सबै कुराको अनुभव गर्नको लागी सबै मानिसमा तेस्रो नेत्र हुन्छ । कसैको पहिल्यै खुलेको हुन्छ, कसैको पछि खुलाउन सकिँदो रहेछ । पहिल्यै खुलेको तेस्रो नेत्र यदी अस्वस्थ रहेछ भने ब्रह्मज्ञान मार्फत त्यसलाई स्वस्थ बनाउन सकिँदो रहेछ । मानिसले ब्रह्मको ज्ञान द्वारा सृष्टीको, जीवनको र मृत्युको रहस्य बुझेर मानिसको तेस्रो नेत्रको ज्ञान पनि बुझेको हुनु पर्दछ । यी ज्ञानहरुका बारेमा पढेका, बुझेका र अनुभव पनि गरेका मानिसहरुलाई ब्रह्मज्ञानी भनिन्छ । त्यस तेस्रो नेत्र मार्फत मानिसले पितृ, भुत, प्रेत, देवी, देवताहरुलाई देख्ने र तिनीहरुसँग सम्पर्क गर्ने गर्न सक्दछ । मानिसको तेस्रो नेत्रद्वारा आफ्नो लिङ्ग शरीरलाई देखेर, महसुस गरेर आफु ब्रह्ममा पुगेको अनुभव गरेको हुनु पर्दछ । आफू ब्रह्ममा पुगेर पुनः सदाशिवमा पुगेको अनुभव, मानिसले आफू जीवित हुँदा नै गरेको हुनु पर्दछ । यो नै मानिसको जीवनको पूर्ण ज्ञान र उपाय हो । यसलाई नै कैवल्य मुक्ति भनिएको छ ।
यस सृष्टीमा अवस्थित भएका सम्पूर्ण चिजहरुको सुरुवात ब्रह्मबाट भएको हो र अन्त्य पनि त्यही ब्रह्ममा हुन्छ । त्यसैगरी लिङ्ग शरीरको उत्पत्ति पनि त्यही ब्रह्मबाट भएको हो र अन्त्य पनि ब्रह्ममा हुन्छ । त्यस लिङ्ग शरीरले “ म पनि त्यही ब्रह्मबाट केही समयको लागी उत्पन्न भएको हुँ र त्यही ब्रह्ममा फर्कनु पर्दछ ” भन्ने कुरा जान्नु पर्दछ ।
यी कुराहरु मात्र नभई मानिसमा तृष्णा पनि हुँदो रहेछ । मर्नु अगाडी मानिसले आफुलाई खान मन लागेको खाने, जान मन लागेको ठाउँमा जाने, लगाउन मन लागेको लगाउने, भेट्न मन लागेकालाई भेट्ने, लेन-देनका कामहरुको सबैको तृष्णा मेटाएर बस्नुपर्छ । आफुमा भएको सबै तृष्णा, इच्छा पुरा गरेर आफुमा वैराग्यता जगाउनु पर्दछ र मृत्युको लागी तयार भएर बस्नुपर्छ । “ जीवनका भौतिक सुखहरु, संसारिक माया र मोह, घर, परिवार, रिस, राग, क्रोध, काम, जिम्मेवारीहरु, दु:ख, घमण्ड, इर्ष्या, धर्म, संस्कार, धन, सम्पति, लोभ, इष्ट, मित्र यी सबै बाचुन्जेलका लागी मात्र हुन् । मलाई अब यी केही पनि चाहिंदैन, यी सबै कुराहरुको अनुभव मैले गरिसके, नगरेको भए पनि मलाई अब त्यसको कुनै इच्छा छैन र कुनै प्रकारको नयाँ तृष्णा र इच्छा जगाउने छैन ”, भन्ने कुराको पनि ज्ञान हुनुपर्दछ ।
सृष्टीकर्ता र संहारकर्ता भगवान शिवजी पारीपट्टी हुनुहुन्छ । म त्यही शिवजी भएको ठाउँमा जाने हो भनेर जान्यो भने उसकालागी त्यो भवसागर सागर रहँदैन । उसले पारीको किनारा देख्छ र साथै शिवजी पनि देख्छ । शिवजी तिर फर्केर, “ ल शिवजी आउनुहोस् र मलाई ब्रह्म लगिदिनुहोस् ” भनेर भन्न जान्यो भने शिवजी आउनुहुन्छ र ब्रह्म लगिदिनुहुन्छ । यसरी शिवजीले लिङ्ग शरीरलाई ब्रह्म लगिदिनुहुन्छ र त्यो लिङ्ग शरीर ब्रह्म हुँदै सदाशिवमा गएर बिलाउने हो ।
तर एउटा लिङ्ग शरीरले बोलाउने बित्तिकै शिवजी आउनुहुन्छ भन्ने छैन । शिवजी आउनुभएन भने त्यो लिङ्ग शरीर त्यही भवसागरमा अलपत्र पर्छ । त्यसैले बोलाउने बित्तिकै शिवजी आउनका लागी शिवजीलाई पूर्ण रुपले चिनेको हुनुपर्छ । आफुले मात्र नभई शिवजीले पनि हामीलाई चिनेको हुनुपर्छ । त्यसको लागी शिवजीको चर्चा गर्ने, उहाँको काम गरिदिने, उहाँलाई रिझाईराख्ने, र एकदम महत्वपूर्ण ब्रह्मको ज्ञान पूर्ण रुपले जानेको हुनुपर्छ । आफ्नो तेस्रो नेत्रद्वारा शिवजीसँग सधैँ दोहोरो कुरा गर्न सकिन्छ । सधैँ शिवजीसँग कुरा गरेर उहाँको चर्चा गर्दै जाने र शिवजीलाई रिझाएपछी , “ म मरेपछि मलाई भवसागरमा अलपत्र नपारी ब्रह्म लगिदिनुहोस् ” भनेर शिवजीलाई जिम्मा लगाउन सकिन्छ । यी कामहरु मानिसले आफु जिउँदै छँदा गरेको हुनुपर्छ । यसो गर्न सकियो भने शिवजीसँग त्यो भवसागर तर्न सकिन्छ । भवसागर तार्ने लाई नै शास्त्रहरुमा पितृ तार्ने पनि भनिएको छ ।
यो ब्रह्मज्ञान नबुझिकन पहिल्यै मरेका मानिसहरु पितृ, भूत, प्रेत बनेर भवसागरमा अलपत्र परेर बसेका छन् भने पनि, ब्रह्मको ज्ञान बुझेको र अनुभव गरेको ब्रह्मज्ञानीको तेस्रो नेत्रद्वारा उसलाई देख्न सकिन्छ र ऊ सँग दोहोरो कुरा गरेर ब्रह्मज्ञान बुझाउन सकिन्छ । पितृले मात्र नभएर पितृको परिवारले पनि ब्रह्मको ज्ञान बुझेर, ब्रह्मज्ञानी सँग गुहार मागेर, पितृसँग दोहोरो कुरा गर्न सक्छ । ब्रह्मज्ञान नबुझिकन कुनै पनि लिङ्ग शरीर, भुत, प्रेत र पितृलाई ब्रह्म तार्न सकिन्न । यदि उसलाई डरले अथवा करले ब्रह्म पुर्याईयो भने ऊ ब्रह्ममा नबसी पटक पटक त्यही भवसागरमा फर्कन्छ । ब्रह्म भनेको उसका लागी नयाँ ठाउँ हुन्छ र जुन ठाउँको बारेमा जानेको छैन, त्यो ठाउँमा बस्न खोज्दैन । ( जस्तै: कोही व्यक्तिलाई नचिनेको ठाउँमा लगेर छोडिदियो भने, ऊ त्यहाँ नबसी फेरी पुरानै ठाउँमा फर्केर आउंछ ।) यो कुरा बुझेर पितृलाई ब्रह्म पठाइयो भने पितृ सदाको लागी ब्रह्ममा बस्न सक्छन् । यो कुरा पितृले बुझ्यो भने उसले पनि “म भवसागरमा नै रहेछु” भन्ने कुरा बुझ्छ र उसको ब्रह्म जानका लागी बाटो खुल्छ । यसरी उसलेपनि भगवानसँग गुहार मागेर भवसागर तरेर ब्रह्म जान सक्छ ।
◌