By Gobinda Tiwari
२०७३ /०३ / २९ – गतेका दिन बिहान ५ :०० बजे उठेर म र मेडम सरासर राधाकृष्ण मन्दिर गयौं । राधाकृष्णको दर्शन गर्न मन्दिर भित्र पस्यौं र दर्शन गरयौं । त्यस अवस्थामा माता अति धेरै खुसी मुद्रामा देखिनुभएको थियो । त्यस पछी मातालाई सोधें, “माता हजुरहरूको दर्शन पायौं हाम्रो लागि केहि खबर छ कि?” भनि सोद्धा माताले ठुलो ट्रे मा सबै रंगीबिरंगी फूलहरु र अबिर ल्याएर अबिरको टिका लगाई फूलहरु दिनुभयो ।
पुन: प्रश्न गरे माता थप मेरो लागि केहि छ कि भनि सोधे । अब तिम्रा सुखका दिनहरु सुरु भएका छन् तर तिमीले मामा र माइजुको आज्ञा पालना गर भनि मामा र माइजुलाई साथमा राखेर ब्रह्मज्ञानको किताब र कक्षामा पढाएको देखाउनुभयो । र भन्नु भयो पढाएको कुरा पूर्ण रूपले मनन गर र पालना पनि गर । त्यस लगतै मनकामना माता आउनुभयो, त्यसपछि एक एक गरी ताल बाराही माता, सीतालादेवी माता, बिन्दवासिनी माता, बज्रगबली हनुमान, राम सिता, लक्ष्मी माता, सरस्वती माता, बिष्णु भगवान, गणेश भगवान, भद्रकाली माता, ब्रह्माजी आउनुभयो। र लगतै नारदजी पनि आएर सबै भगवानहरुलाई केहि भने जस्तो लाग्यो। त्यस लगतै शिवजी आउनुभएर भन्नु भयो, आगाडी बढी राखेको छौ, आगाडी बढ्दै गर, बाटो नबिराउ तिमीहरुलाई धेरै धेरै आशिर्बाद छ । हामी सधै तिमीहरुको साथमा छौं, भनि विदा हुनुभयो । त्यसपछि हामी सबै भगवानहरु संग विदा मागेर फर्कियौँ ।
त्यसै दिन हाम्रो गाउँको एकजना दाइको छोरीको विवाह थियो । त्यसमा हामी सबै परिवारलाई नै निमन्त्रणा थियो, सोहि समयमा मैले नजाने निधो गरेको थिए । तर मलाई विहानपख खबर आयो, “तिमी जाऊ, अब जानुपर्छ” । र मैले निर्णय परिवर्तन गरी म र मेडम विवाहमा जाने निर्णय लिएर दिनको १२:२० मा त्यो विवाहमा हिड्यौ । तर विवाह हुने ठाउँमा पुग्नु भन्दा पहिला सीतलादेवी माताको दर्शन गरी जाऊ भनि त्यता लाग्यौ । मन्दिर पुगियो । त्यो दिन दिनको १:०० बजे पनि मन्दिर खुल्ला थियो । मन्दिर पुग्ने बित्तिकै माताले आफ्नो दर्शन दिनुभयो । त्यो अवस्थामा माता अत्यन्त सजीसजाउ अवस्थामा आउनुभएको थियो । पहेंलो साडी, बोर्डरमा रंगीबिरंगी चाँदीका फूलहरु थिए । ब्लाउज पनि त्यही रंग र बुट्टामा थियो । माताको अनुहारको कुनै व्याख्या गर्ने ठाउँनै थिएन । विवाहमा दुलहीलाई जसरी सजीसजाउ गरिन्छ त्यो भन्दा पनि कति कति बढी सजावट थियो । साथमा दुलहीको जसरी सोहि रंगमा घुम्टो पनि ओढ्नुभएको थियो । तर सबै अनुहार कपाल लगाएत सबै अंगहरुमा लगाएका गहनाहरु देख्न सकिने थियो । साथै शरीरको कोमलता पनि त्यस्तै नै थियो । खुट्टामा कल्ली लगाएत प्रत्येक औलामा औंठी र नङमा पोलिस पनि लगाउनु भएको थियो । उहाँलाई त्यो रूपमा देख्दा मेरो शरीर कहाँ थियो थाहा थिएन । अत्यन्त आनन्दको अवस्थामा भएको महसुस गरीरहेको थिए । त्यसै अवसरमा मातालाई धन्यवाद दिंदै अब थप केहि छ कि माता भनि सोध्दा माताले तुरुन्तै जवाफ दिनुभयो, अब तिम्रा विजयका दिनहरु आजै बाट सुरु भएको छ । हिम्मतका साथ आगाडी बढ । भन्दै हुनुहुन्थ्यो, त्यसै बेला शिवजीले मलाई त्रिशुल दिनुभयो, राम भगवानले धनुष-वाण लिएर जाऊ भन्नुभयो र दिनुभयो पनि । त्यसपछि उहाँहरुलाई धन्यवाद दिएर विदा मागी त्यहाँ बाट हिड्यौ ।
भगवान संग विदा मागेर विवाह घर तर्फ जादैँ थियौँ, अचानक बाटोमा विभिन्न प्रश्नहरु मनमा खेल्न थाले । “त्यही समाज हो, तिनै दाजुभाइ, इस्टमित्र, छर छिमेक, नाता गोता तिनै हुन्। विगतमा म यो ब्रह्मज्ञान सिक्छु भन्दा यसले अत्यन्त ठुलो अपराध गरेको छ, आफुले मानी आएको धर्म संस्कारनै छाडेको छ, कतिले त यो पागल पनि भएको छ भन्ने सुनेको थिए, तिनै हुन् हाम्रो समाजबाट मलाई बहिस्कार गर्नुपर्छ भनि गाउँ निकाला को निर्णय समेत गर्ने र आज म तिनीहरुकै निमन्त्रणामा तिनीहरुकै शुभ कार्यमा जादैँ छु । म त्यहाँ पुग्दा मलाई केहि सोध्ने र भन्ने गर्छन कि गर्दैनन् ? मलाई हेर्ने तिनीहरुको दृष्टिकोण कस्तो होला ? यस्तै कुराहरु सोच्दै थिए त्यतिकैमा म विवाह घरमा पुगेछु ।
त्यहाँ पुग्दा गाउँका सबै ठुला बढा भनाउदाहरुको ठुलै जमघट भएर बसेका रहेछन् । जुन व्यक्तिहरु विगतमा हामीलाई गाउँ निकाला गर्ने प्रमुख व्यक्तिहरु थिए । सरासर गयौं, जसले निमन्त्रणा गरेको थियो, उसलाई भेटेर बधाईका साथै धन्यवाद अनि दियौं । त्यसै अवसरमा हामीलाई गाउँ निकालाको निर्णय गर्ने समुहको नाइके स्वम आएर नमस्ते गरे र हाल खबर के छ भनि सोधे पनि । जवाफमा अत्यन्त ठिक छ भन्यौँ र त्यहा वरपर बसेका सबैले एकै साथ नमस्ते गरेर आफुहरु बसेको ठाउँमा बोलाए । हामी त्यहाँ गयौं । सबैले सम्मानका साथ सन्चो विसन्चो लगाएत सबै कुरा सोधे र हामीले छोटो छोटो उत्तर दियौं तर जुन विवाह गर्न बोलाइएको पण्डित थियो, ऊ चाहिँ बोल्न अप्ठेरो मानी नमस्ते मात्र गर्यो । समग्रमा भन्नुपर्दा विगतका दिनहरुमा भन्दा हामीलाई उनीहरुले हेर्ने दृष्टिकोणमा आज आएर धेरै परिवर्तन भएको रहेछ । अचानक आज आएर उनीहरुको यो परिवर्तन किन र कसरी भयो? गाउँ निकाला गर्नेले आज सम्मान किन गरे? मैले यो ब्रह्मज्ञान सिकेपछि म र मेरो परिवारमा आएको परिवर्तनले गर्दा यिनीहरुमा पनि मलाई हेर्ने जुन दृष्टिकोणमा परिवर्तन आएछ । यसले गर्दा हाम्रो ब्रह्मज्ञानको केहि कुरा पुष्टी भएको होला । यो अवस्था सम्म आइपुग्नु भनेको शिवजीको साथ नै हो भन्ने सम्झेको छु र यही प्रमाण पनि हो ब्रह्मज्ञान जान्ने र शिवजीको पछि लाग्नेको पराजय हुँदैन, भन्दै घर तर्फ फर्कियौं ।
सोहि दिन रातिको सपना
सपनामा मामा माइजूले मलाई बोलाउनुभयो, म त्यहाँ गएँ । मामा माइजू एउटा घरको दुइवटा सजी सजाउ कोठामा बस्नु भएको रहेछ । वरपर चारैतिर फूलहरुको बगैंचा र बगैंचा नजिकै तलाउ, र तलाउमा आएको पानि झरनाको रूपमा आइरेहेको थियो । त्यसै अवसरमा माइजूले मलाई काम दिनुभयो, “गोविन्द ! तिमीले यो बगैंचा र तलाउ सफा गर त!” भन्नुभयो । हुन्छ भनि म उहाँहरुको आज्ञा पालना गर्दै त्यहाँ बाट सफा गर्न हिडे । बगैंचा र तलाउ दुवैलाई सरसर्ती हेरे । ती मध्येमा अलि धेरै फोहोर तलाउ थियो । म त्यही तलाउको नजिकै गएँ । तलाउमा स-साना बोट बिरुवा र पानी माथि मसिनो जालो लगेर पुरै पानी ढाकिएको थियो । सुरुमा त यो तलाउमा सर्प हरु लगाएत अन्य डर लाग्दा जीव जन्तु हरु छन् होला भनि डर पनि लाग्यो । तर मैले आज्ञा पालना गर्नु पर्छ, मेरो काम यही हो भनि हिम्मत उठाएर पोखरीमा पसे । एकैछिनमा पोखरी सफा गरे । पोखरी सफा गरिसकेपछि त्यो पोखरी अत्यन्त सफा, निलो गाडा रंगमा देखियो । सफा गरिसकेपछि पोखरीबाट वाहिर निस्कन्छु भन्दा, पोखरी भरि माछाहरु आए । ती माछाहरुले मेरो वरिपरी घुमिरहे । मलाई अत्यन्त रमाइलो लाग्यो र आनन्द पनि आयो । म त्यही रोकिएर हेरिरहें । त्यसै बखतमा मामाले सोध्नुभयो, ”पोखरी सफा भयो ?” मैले भने, ”भयो मामा । यहाँ त माछा कति धेरै र राम्रा पनि रहेछन् “। फेरी मामाले अब यो फुलबारी सफा गर भन्नुभयो । हुन्छ भनी सफा गर्न थाले । मामा माइजूलाई मैले खुशी पर्दै रहेको जस्तो लाग्थ्यो । त्यही अवसरमा मामा माइजू आएर केहि खान दिनुभयो । सुरुमा थाहा भएन के दिनु भयो ? तर खाएपछि थाहा पाएँ कि अत्यन्त मिठो स्वादिलो लड्डु रहेछ । त्यस पछि मामा माइजू संग विदा मागेर त्यहाँ बाट हिंडे ।
जाँदा जाँदै म फेरी तिनै मेरा गाउँलेहरु भएको ठाउँमा पुगेछु । तिनीहरु कस्तो ठाउँमा बसेका रहेछन् भने चारै तिर ठुला ठुला पहाडहरु, ठुला ठुला रुखहरुको घना जंगल, विचमा ठुलो नदि बगिरहेको रहेछ । त्यही नदीको किनारमा गाउँले हरुको वस्ती रहेछ । त्यही नदीको किनारमा त्यो वस्तीमा कसैले घर बनाउन सुरु गरेका, कसैले आधा मात्र बनाएका, सबै एकै खाले घर बनाउनलाई फलामको रडहरु ठड्याएका, सिमेन्ट, बालुवा, गिट्टी नभरेका, सबै घरहरुमा एक सरो इट्टाको गारो लगाएर, कसैले भर्खर बनाउन सुरु गरेका, कसैले ३ तला सम्म पुर्याएका तर कसैले पनि छाना छाउन नसकेका थिए । छाना छाउने समान पनि थिएन । एक जनाले सम्म छाना छाउन लागेको, इट्टाको गारोमा फालमको रड मात्र ठड्याएर, माथी काठ झुन्डाएर, खरले छाउन लागेको थियो, त्यही पनि त्यो खर सकिएर १/३ भाग मात्र छाएको थियो । तर त्यही वस्ती नजिकै मेरो घर पनि रहेछ । मेरो घर सबै कुराले सम्पन्न भएको, चिटिक्क परेको, अत्यन्त रमणीय ठाउँमा रहेछ । म त्यही गएछु, ती गाउँलेहरु मेरो पछि लागेका रहेछन् । पछाडी फर्केर हेर्दा तिनीहरु सबै झुत्रा-झाँग्रा कपडा लगाएका, धेरैजसोको खुट्टामा चप्पल पनि नभएको रहेछ । मेरो घरमा पुगेपछि उनीहरुले मलाई सोधे, “सर! तपाईंको घर सबै चिजले सम्पन्न रहेछ, हामीले हाम्रो घर सम्पन्न गर्न सकेनौं । हामीलाई सहयोग गरिदिनुहोस् भने । “ ती भन्ने व्यक्ति चाहिं विगतमा मलाई गाउँ निकाला गर्नेको नाइके थियो । अनि तिनीहरुलाई मैले भन्दै थिएँ, “तिमीहरुलाई यति धेरै दु:ख भएको मेरो विरोध गरेर हो । म ब्रह्मज्ञान बुझेर शिवजीको पछि लागेको हु । म अहिले शिवजीको चर्चा गर्छु । शिवजीले भन्नु भएको छ, मानिस मारेर पनि पूर्ण रूपले मरेको हुँदैन । मानिसको तीनवटा शरीर हुन्छ । मानिसमा तेस्रो नेत्र भन्ने पनि हुन्छ, जुन कसैको पहिले नै खुलेको हुन्छ, कसैको पछि खुलाउन सकिँदो रहेछ । त्यो तेस्रो नेत्रले मानब जीवनको सबै कुराहरु देख्न सकिँदो रहेछ । मानिस मरेर कहाँ जाँदो रहेछ भनेर देख्न सकिँदो रहेछ । आफ्ना राम्रा नराम्रा कुराहरु देख्न सकिँदो रहेछ । त्यो तेस्रो नेत्र स्वस्थ संग खुल्यो भने भगवान शिवजीलाई देख्न सकिँदो रहेछ । आफ्ना दुख सुखका कुराहरु उहाँलाई भन्न सकिँदो रहेछ । म उहाँकै पछि लागेको हुँ । म शिवजीलाई देखेर दोहोरो कुरा गर्न सक्छु । म उहाँकै इशारामा आगाडी बढीरहेको छु ।” यति के मात्रै भनेको थिए, ब्युझिंए ।